काठमाडौं । सिमरामा हत्या गरिएकी बालिका गरिमा चौधरीको आमाबुवासँग सरकारले तीनबुँदे सहमति गरेको छ ।
गृह मन्त्रालयमा भएको वार्तापछि सरकारले तीनबुँदे सहमति गरेको हो । शनिवार गृहमन्त्री सुधन गुरुङले हत्या गरिएकी बालिकाको अभिभावकलाई वार्ताका लागि सिमराबाट काठमाडौं झिकाएका थिए ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बालिकाको अभिभावकलाई कृषिमन्त्री गिता चौधरीले गृह मन्त्रालय लगेकी थिइन्। गृहमन्त्री गुरुङ, कानुनमन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, महिला बालबालिकामन्त्री सिता वादीको उपस्थितिमा परिवारसँग तीनबुँदे सहमति भएको हो ।
सहमतिमा जघन्य अपराधका घटनामा नागरिक अपेक्षाअनुसार विद्यमान कानुन परिमार्जन गर्ने उल्लेख छ । 'विद्यमान कानुनमा भएको सजायको व्यवस्था पुनरवलोकन गरी कानु तर्जुमाका लागि सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने,' सम्झौतामा भनिएको छ ।
बालिकाको अभिभावकको चाहनाअनुसार सालिक बनाउन पूर्वाधारमन्त्री सुनिल लम्सालले स्थानीय तहसँग समन्वय गर्ने सम्झौतामा उल्लेख छ ।
यस्तै,बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रितअनुसार बालिकाको अन्त्येष्टि गर्ने सहमतिमा उल्लेख छ । उक्त सहमतिमा मन्त्रीहरूसँगै बालिकाकी बुवा मनोजकुमार चौधरी र आमा मानमति चौधरीको हस्ताक्षर छ ।

