प्रहरी सङ्गठनसँग व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

बारामा भएको बालिका हत्याको घटनाबारे बोल्दै सांसद सुनारले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न राज्य गम्भीर हुनुपर्ने बताए ।

प्रहरी सङ्गठनसँग व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी सङ्गठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका छन् ।

शुक्रबार रास्वपा कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सुनारले संसदीय समितिमा उजुरी आएपछि सम्बन्धित व्यक्ति तथा अधिकारीलाई बोलाएर छलफल गर्नु सामान्य र नियमित प्रक्रिया भएको बताए । उनले आफू र प्रहरी सङ्गठन वा प्रहरी प्रमुखबीच व्यक्तिगत विवाद नरहेको स्पष्ट पारे ।

मिडियाले आफू र प्रहरी पक्षबीच दुई पक्षीय विवादका रूपमा अनावश्यक प्रचार गरेको भन्दै सांसद सुनारले आपत्तिसमेत जनाए । उनले रास्वपाको जन्म नै अराजकता र बेथितिको अन्त्य गर्दै सुशासन कायम गर्न तथा भ्रष्टाचारविरुद्ध लड्न भएको बताए ।

बारामा भएको बालिका हत्याको घटनाबारे बोल्दै सांसद सुनारले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न राज्य गम्भीर हुनुपर्ने बताए । उनले घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही हुनुपर्नेमा जोड दिए ।