काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेख्य सुधार सहितको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले उल्लेख्य रुपमा बढाएपनि स्प्रेड रेट घट्दा खुद ब्याज आम्दानीमा सुधार भएको छ । तर, निष्क्रिय कर्जामा सुधार भएर सम्भावित कर्जा नोक्सानी व्यवस्थामा उल्लेख्य कमी आउँदा बैंकको नाफामा भने ठूलो सुधार देखिएको हो ।
बैंकले प्रकाशित गरेको गत आबको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा ३३.५० प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आवमा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आव २०८१/८२ मा बैंकको खुद नाफा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ मात्र थियो। बैंकको व्यवसाय विस्तारसँगै खराब कर्जा व्यवस्थापनमा देखिएको सुधारले नाफा बढाउन मुख्य भूमिका खेलेको हो ।
बैंकको कर्जा लगानी बढे पनि खुद ब्याज आम्दानी भने सोही अनुपातमा बढ्न सकेको छैन । अघिल्लो आवमा १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत आवमा बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ। बैंकको ब्याजदर अन्तर अर्थात् स्प्रेड दर ३.५७ प्रतिशतबाट खुम्चिएर ३.१८ प्रतिशतमा झरेका कारण कर्जा बढ्दा पनि खुद ब्याज आम्दानीमा अपेक्षित सुधार नदेखिएको हो। यस्तै, बैंकको खुद फी तथा कमिसन आम्दानी पनि सामान्य वृद्धि हुँदै ३ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुगेको छ ।
खुद ब्याज र फी तथा कमीसन आम्दानीमा सामान्य मात्रै सुधार भएपनि बैंकको नाफा बढ्नुको मुख्य कारण निष्क्रिय कर्जामा सुधार भए कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घट्नु हो ।
अघिल्लो आवमा कर्जा नोक्सानी व्यवस्थामा ४ अर्ब २० करोड १४ लाख रुपैयाँ रहेकोमा गत आबमा घटेर २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा झरेको छ। यसले बैंकको सञ्चालन मुनाफा बढाउनसहयोग पुर्याएको छ । अघिल्लो वर्ष ४.४८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ४.२० प्रतिशतमा झरेको हो ।
खुद निष्क्रिय कर्जा ०.५८ प्रतिशत मात्रै रहेको बैंकको निष्क्रिय कर्जाको ११९.७३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरेको छ । यसले सम्भावित कर्जा जोखिमका लागि पर्याप्त प्रोभिजन गरेको देखिन्छ ।
नबिल बैंकको खुद नाफा ७ अर्ब ९० करोड ५७ लाख
अघिल्लो आवमा कर्जा नोक्सानी व्यवस्थामा ४ अर्ब २० करोड १४ लाख रुपैयाँ रहेकोमा गत आबमा घटेर २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा झरेको छ। यसले बैंकको सञ्चालन मुनाफा बढाउनसहयोग पुर्याएको छ । अघिल्लो वर्ष ४.४८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ४.२० प्रतिशतमा झरेको हो ।

