काठमाडौं । युट्युबमार्फत भ्रामक सूचना प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ९ स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्दै आएका ३९ वर्षीय जनक भुसाल रहेका छन् ।
साइबर ब्युरोका अनुसार भुसालले ‘नेपाली खबर टीभी’ नामक युट्युब च्यानलमार्फत फलोअर्स बढाउने तथा आर्थिक लाभ लिने उद्देश्यले राज्यको विद्यमान परिस्थितिमा प्रत्यक्ष असर पर्ने गरी भ्रामक भिडियो सामग्री तयार पारेर प्रसारण गरेका थिए ।
प्रहरीका अनुसार उनले अफवाह फैलाउने, जातीय तथा धार्मिक हिंसात्मक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित बनाउने तथा कानुनले प्रकाशन वा प्रदर्शन गर्न निषेध गरेका सामग्री प्रसारण गर्ने कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साथै, कसैप्रति घृणा वा द्वेष फैलाउने तथा विभिन्न जातजाति र समुदायबीचको सामाजिक सद्भावमा खलल पुग्ने किसिमका सामग्रीसमेत प्रकाशन तथा प्रसारण गरेको आरोप प्रहरीले लगाएको छ।
साइबर ब्युरोले सामाजिक सञ्जालको निगरानी तथा प्राविधिक विश्लेषणका क्रममा उनको संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उनलाई १६ साउनमा बुटवलबाट पक्राउ गरेको जनाएको छ ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
भ्रामक सूचना फैलाएको आरोपमा युट्युबर जनक भुसाल पक्राउ
साइबर ब्युरोले सामाजिक सञ्जालको निगरानी तथा प्राविधिक विश्लेषणका क्रममा उनको संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उनलाई १६ साउनमा बुटवलबाट पक्राउ गरेको जनाएको छ ।

