काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी चार किल्ला तोकेर अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन्।
गएराति सुनसरीको देवानगञ्जमा दुई समुहबिच झडप नियन्त्रणको लागि भन्दै प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु र २१ जना घाइते भएपछि त्यसक्षेत्रमा तनाव उत्पन्न भएको छ। कर्फ्यु लागु गरिएका क्षेत्रहरूमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
सीडीओको आदेशअनुसार हरिनगरा बजार क्षेत्र (पूर्वमा नूनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोड), भुटाहा बजार क्षेत्र (पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय), तथा कसनागंज बजार क्षेत्र (पूर्वमा यादव टोल, पश्चिममा पाँचौ सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र) भित्र कर्फ्यु आदेश जारी भएको हो। कर्फ्यु लागु भएका क्षेत्रमा आवतजावत तथा भेला हुन नपाइने स्थानीय प्रशासनले जनाएको छ।
त्यस्तै घुस्की बजार क्षेत्र (पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल) र देवानगंज बजार क्षेत्र (पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय) को चार किल्ला भित्र पनि कर्फ्यु आदेश जारी गरिएको छ।
सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी चार किल्ला तोकेर अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन्।

