बडिगाड । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बडिगाड गाउँपालिकाबाट विनियोजित बजेटको ४१ लाख पचास हजार रुपैयाँ आफ्नो वडामा छुट्याएकी छन् । अन्य वडाको तुलनामा वडा नम्बर ७ मा ४१ लाख ५० हजार बजेट विनियोजन गरेकी हुन् । उनले विनियोजन गरेको बजेटमाथि नै अन्य वडाका जनप्रतिनिधिहरुले असन्तुष्ट जनाएका छन् ।
उनले आफ्नो वडामा मात्रै रंगशाला निर्माण, खेलमैदान, पदमार्ग, मन्दिरलगायतका पूर्वाधार निर्माणका लागि ४१ लाख ५० हजार बजेट छुट्याएकी हुन् । उनले आर्थिक वर्ष २०८३/०८४ का लागि पुँजीगततर्फ वडा नम्बर १ मा १२ लाख, वडा नम्बर २ मा २५ लाख, वडा नम्बर ३ मा ७ लाख, वडा नम्बर ४ मा १२ लाख, वडा नम्बर ५ मा ३४ लाख, वडा नम्बर ६ मा ११ लाख, वडा नम्बर ८ मा २७ लाख, वडा नम्बर ९ मा २२ लाख, र वडा नम्बर १० मा १७ लाख विनियोजन गरेकी हुन् । अन्य वडाको तुलनामा आफ्नो वडामा बजेट बढी छुट्याएकी हुन् । यो वडामा छुट्याइएको ६० लाख बाहेकको बजेट हो ।
बडिगाड गाउँपालिका ७ अध्यक्ष थापाको वडामा कति छ बजेट ?
१) दोबाटा खेल मैदान: १० लाख रुपैयाँ
२) भद्रेचाैर मोटरबाटो :५ लाख रुपैयाँ
३) स्वाबलम्बी जेलपात्ले आमा समूह भवन तथा मन्दिर व्यवस्थापन: ३ लाख रुपैयाँ
४) भिमगिठे मावि :४ लाख रुपैयाँ
५) रानी मन्दिर व्यवस्थापन : ३ लाख रुपैयाँ
६) बडिगाड रंगशाला निर्माण : ५ लाख रुपैयाँ
७) पातले लिफ्टिड खानेपानी : ६ लाख रुपैयाँ
८) बडिगाड रंगशाला निर्माण (थप): २ लाख ५० हजार रुपैयाँ
९) माझखर्क बालविकास केन्द्र मर्मत: २ लाख रुपैयाँ
१०) माईस्थान प्रा.वि. जाने पदमार्ग : १ लाख रुपैयाँ

- वडा नम्बर ७ को साविक वडा नम्बर १ मै २८ लाख बजेट, २ वडालाई शुन्य साविक भिमगिठे गाउँविकास समिति वडा नम्बर १, ३, ४, ५, ६ र ७ भएको बडिगाड गाउँपालिका वडा नम्बर ७ मै बजेट विनियोजन गर्दा विभेद भएको पाइएको छ । थापाले साविक वडा नम्बर १ मा २८ लाख रकम विनियोजन गर्दा अन्य २ वटा वडामा बजेट शुन्य रहेको छ । साविक भीमगिठे ५ र वडा नम्बर ३ मा बजेट शुन्य रहेको पाइएको हो । यो सँगै वडा नम्बर ४, ६, ७ वटा वडामा भने १२ लाख मात्र बजेट विनियोजन गरेकी छन् ।


