जन्ममिति ढाँटेर बढुवा भएका डीआईजी सिंहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले आफ्नो नागरिकताअनुसार यसअघि नै अवकाश पाइसक्नुपर्ने विवरण सार्वजनिक गरेपछि बुधवार प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका हुन् ।

जन्ममिति ढाँटेर बढुवा भएका डीआईजी सिंहले दिए राजीनामा
काठमाडाैँ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहले आफ्नो नागरिकताअनुसार यसअघि नै अवकाश पाइसक्नुपर्ने विवरण सार्वजनिक गरेपछि बुधवार प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका हुन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले न्यूज खरीलाई जानकारी दिए । डीआईजी सिंहले राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको प्रमाणसहित समाचार प्रकाशन गरेको थियो । न्यूज खरीलाई प्राप्त डीआईजी सिंहको नागरिकताको प्रतिलिपिअनुसार उनले गएको जेठ २२ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदबाटै अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर, उनले आफ्नो जन्म मिति ढाँटेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको पुष्टि भएको थियो । नागरिकताको प्रमाणपत्रमा उनी २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको उल्लेख छ । उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ साल जेठ २२ गते जन्मिएको हुनुपर्छ । यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिन्छ । तत्कालीन अवस्थामा सिंह वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी पदमा कार्यरत थिए । प्रहरी नियमावली २०७१ को नियम १२७ अनुसार एसएसपीले अनिवार्य अवकाश पाउने उमेर ५५ वर्ष हो । त्यस हिसाबले सिंहले एसएसपी छँदै २०७९ जेठ २२ गते अनिवार्य अवकाश पाउनुपर्ने थियो । उनीविरुद्ध फागुन ६ गते अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी समेत परेको छ । सिंहसहित १ जना एआईजी र ७ जना डीआईजीको जन्ममिति फरक परेको विवरण  सार्वजनिक गरिसकेको छ । सबैभन्दा बढी फरक परेको अशोक सिंहकै थियो ।