अपुताली जग्गा व्यक्तिलाई दिलाउने बाँके मालपोत प्रमुख सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले मुख्य अभियुक्तका रूपमा तत्कालीन मालपोत हाकिम केसीसँग २२ लाख ४२ हजार ७२० रूपैयाँ, मालपोत अधिकृत भट्टराईविरुद्ध २० लाख ८७ हजार २५९ रूपैयाँ बिगो दाबी गरेको छ।

अपुताली जग्गा व्यक्तिलाई दिलाउने बाँके मालपोत प्रमुख सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । सरकारी जग्गा गैरकानूनी ढंगले व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा बाँके मालपोतका तत्कालीन मालपोत अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी, अधिकृत अशोककुमार भट्टराई, तत्कालीन नायब सुब्बा ताराप्रसाद खनाल, साविक बेतहनी गाविसका तत्कालीन सचिव मानबहादुर बोगटी र नायब सुब्बा कर्णबहादुर पुनविरुद्ध मुद्दा दायर गरेको हो । जग्गा हात पार्ने लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीलाई पनि प्रतिवादी बनाइएको छ । साविक बेतहनी गाविस ४ मा रहेको स्वर्गीय सुरता कुर्मीको नामको जग्गा हकवाला कोही नभएकाले (अपुताली) प्रचलित कानूनअनुसार नेपाल सरकारको नाममा कायम हुनुपर्ने मा आपसी मिलेमतोमा उक्त जग्गा लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीको नाममा नामसारी गरी हानीनोक्सानी पुर्‍याएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । अख्तियारले मुख्य अभियुक्तका रूपमा तत्कालीन मालपोत हाकिम केसीसँग २२ लाख ४२ हजार ७२० रूपैयाँ, मालपोत अधिकृत भट्टराईविरुद्ध २० लाख ८७ हजार २५९ रूपैयाँ बिगो दाबी गरेको छ।