बालेनले केपी ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट उम्मेदवारी दिने

एकतापछि बालेन कुन क्षेत्रबाट उठ्छन् भन्ने सबैको जिज्ञाशाको विषय थियो । धेरैले ओलीप्रति कटु टिप्पणी गर्दै आएका बालेन उनैको क्षेत्रबाट उठ्न सक्ने लख काटेका थिए । ओली–बालेनबीच एकअर्काबारे खरो आरोपप्रत्यारोप युद्ध हुँदै आएको छ ।

बालेनले केपी ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट उम्मेदवारी दिने
काठमाडौं । आसन्न प्रतिनिधिसभाको निर्वाचन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । रास्वपा स्रोतका अनुसार बालेनले झापा क्षेत्र नं. ५ मा चुनाव लड्ने भएका हुन् । झापा ५ एमालेको गढ हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँबाट ओली ५२ हजारभन्दा बढी मतका साथ विजयी भएका थिए । ओलीसँग नेपाली कांग्रेसका खगेन्द्र अधिकारी पराजित भएका थिए । सो बेला रास्वपाका शुरेस पोखरेलले ११ हजार ७ सय मत ल्याएका थिए। काठमाडौंका मेयर बालेन रास्वपाका वरिष्ठ नेता हुन् । हालैमात्र रास्वपा र बालेनबीच एकता भएको थियो । एकतापछि बालेन कुन क्षेत्रबाट उठ्छन् भन्ने सबैको जिज्ञाशाको विषय थियो । धेरैले ओलीप्रति कटु टिप्पणी गर्दै आएका बालेन उनैको क्षेत्रबाट उठ्न सक्ने लख काटेका थिए । ओली–बालेनबीच एकअर्काबारे खरो आरोपप्रत्यारोप युद्ध हुँदै आएको छ । रास्वपा स्रोतका अनुसार बालेनले पुरानो पुस्ताका शीर्ष नेतालाई उनीहरूकै सुरक्षित मानिएका क्षेत्रमा चुनौती दिने रणनीति बनाएका हुन् । ‘बालेनको उद्देश्य केवल संसद छिर्नु मात्र होइन, बरु वर्षौँदेखि एउटा क्षेत्रमा पकड जमाएर बसेका नेताहरूलाई नयाँ पुस्ताको शक्ति देखाउनु हो,’ स्रोत भन्छ । झापा ५ लाई रोज्नुको पछाडि ओलीको ’राजनीतिक किल्ला’ भत्काउने र वैकल्पिक राजनीतिको लहर देशव्यापी बनाउने योजना रहेको बताइएको छ ।