ओखलढुंगामा दम्पतीको बीभत्स हत्या, तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन

उनले शव अहिले पनि घटनास्थलमै रहेको बताए। ‘त्यो घरमा पतिपत्नी मात्रै बस्नु हुने रहेछ, छोराछोरी बाहिर हुनुहुन्छ भन्ने छ। तालिम प्राप्त कुकुरबाट अनुसन्धान नगरि शव घटनास्थलबाट उठाइने छैन,’ उनले भने।

ओखलढुंगामा दम्पतीको बीभत्स हत्या, तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन
काठमाडौं । ओखलढुंगामा दम्पतीको हत्या भएको छ। चिशङ्खुगढी गाउँपालिका–६ भदौरे निवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको मंगलबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। बिहान अबेरसम्म उनीहरू घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी सुरु गरेका थिए। बाहिरबाट बोलाउँदा कुनै पनि प्रतिक्रिया नआएपछि घरभित्र पसेर हेर्दा दुवैलाई मृत अवस्थामा फेला पारिएको छिमेकीले बताएका छन्। घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको देखिएको छ। उनले शव अहिले पनि घटनास्थलमै रहेको बताए। ‘त्यो घरमा पतिपत्नी मात्रै बस्नु हुने रहेछ, छोराछोरी बाहिर हुनुहुन्छ भन्ने छ। तालिम प्राप्त कुकुरबाट अनुसन्धान नगरि शव घटनास्थलबाट उठाइने छैन,’ उनले भने। हत्या कसले र किन गर्‍यो खुलेको छैन। दोषी पहिचानका लागि सम्भावित सबै कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ। ‘हामीले शंकास्पद केही व्यक्तिलाई निगरानीमा राखेका छौँ। अहिलेसम्म कसैलाई पक्राउ गरेका छैनौँ,’ इन्सपेक्टर भट्टराईले भने। केही महिनाअघि पनि सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको घरैमा हत्या भएको थियो।