एमाले महाधिवेशन : मतदान बहिष्कार गरेका मुकुन्द न्यौपाने के भन्छन् ?

एमाले फर्किएपछि उनैलाई जिम्मेवारी दिन २०८० जेठमा विधान संशोधन भएको थियो। उनी स्थायी कमिटी सदस्य थिए। बुधबारदेखि सुरू भएको मतदानमा किन उपस्थित भएनन् भनेर हामीले न्यौपानेलाई सोधेका छौं।

एमाले महाधिवेशन : मतदान बहिष्कार गरेका मुकुन्द न्यौपाने के भन्छन् ?
काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित रहे। निवर्तमान केन्द्रीय सदस्य रहेका बसन्त नेम्बाङ स्वास्थ्यका कारण मतदानमा सहभागी हुन सकेकन्। अन्य प्रतिनिधिहरू विभिन्न कारण मतदानमा सरिक भएनन्। तत्कालीन एकीकृत समाजवादीबाट एमाले फर्किएका मुकुन्द न्यौपाने पनि मतदान गर्न गएनन्। एमाले फर्किएपछि उनैलाई जिम्मेवारी दिन २०८० जेठमा विधान संशोधन भएको थियो। उनी स्थायी कमिटी सदस्य थिए। बुधबारदेखि सुरू भएको मतदानमा किन उपस्थित भएनन् भनेर हामीले न्यौपानेलाई सोधेका छौं। उनले आफू अहिले हेटौंडामा रहेको बताए। ‍न्यौपाने गोदावरीको विधान महाधिवेशनबाट भएको निर्णय उल्ट्याएर ओलीले आफू अनुकूल बनाएकोमा असन्तुष्ट सुनिए। 'विधान महाधिवेशनबाट भएको निर्णय तलमाथि नगरौं भनेका थियौं। त्यो कार्यान्वयन भएन। ओलीजी तीन महिनाअघि एउटा कुरा गर्नुहुन्छ। तीन महिनापछाडि अर्को कुरा। ७० वर्षे उमेरहद र २ कार्यकाल भनिएको थियो। दुइटै खारेज भयो। बोलीको ठेगान नभएको मान्छे। उसँग बसेर यो देश बन्छ भनेर कल्पना गर्न सकिन्छ ?' उनले भने। त्यसकारण आफू मतदानमा सरिक नभएको न्यौपानेले बताए। 'ुकेपी ओली बसेको पार्टीमा म बस्दिनँ भनेर निस्किएको हुँ', उनले भने, 'नैतिकता सबैभन्दा पहिलो हो। पार्टी नेतृत्वको नीति ठीक छ कि छैन भन्ने कुरा हेरिन्छ। उसले बोलेको कुरामा अडिन सक्छ कि सक्दैन भन्ने हेरिन्छ।' नेतृत्व नैतिक नहुनू एमाले भित्र मात्र नभई ठूला भनिएका सबै पार्टीको समस्या रहेको उनले बताए। '३४ वर्षमा ३२ वटा सरकार परिवर्तन गरे। हाम्रो संविधानअनुसार १६० वर्ष लाग्छ ३२ वटा सरकार परिवर्तन हुन,' उनले भने। आफूले नेतृत्वबाट हुने हरेक गलत कदममा प्रश्न गरिरहेको भए पनि ‍त्यसको सुनुवाइ नभएको न्यौपाने बताउँछन्।