मनोनीत १०८ महाधिवेशन प्रतिनिधिप्रति पोखरेल पक्षको असहमति

हिजोको सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने योजना थियो। तर उक्त सहमति विपरित एकलौटी ढंगले सूची प्रकाशित गरिएको पोखरेलले बताए।

मनोनीत १०८ महाधिवेशन प्रतिनिधिप्रति पोखरेल पक्षको असहमति
काठमाडौं । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको बिषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति जनाएका छन्। शुक्रबार बसेको सचिवालय बैठकमा १०८ जना प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने सहमति भए पनि त्यस अनुसार अहिले सूची नआएको भन्दै पोखरेल समूहले असहमति जनाएको हो। हिजोको सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुंगो लगाउने योजना थियो। तर उक्त सहमति विपरित एकलौटी ढंगले सूची प्रकाशित गरिएको पोखरेलले बताए। एमाले सचिव योगेश भट्टराईले पनि आज आएको सूची सहमति गर्न सकिने खालको नभएको बताए। ‘सहमति हुने खालको लिस्ट निस्केको छैन,’ उनले भने, ‘हिजो अध्यक्षले पेस गरेकै सूची आएछ।’ हिजोको बैठकमा ओली र पोखरेल दुवैले आफ्नो समूहको तर्फबाट अलग सूची पेस गरेपछि आज ती ती दुबै नामहरुबीचमा सहमति खोज्ने निर्णय भएको पोखरेल पक्षका नेताहरूको भनाइ छ।