गोली हानी निरज चौधरीको हत्या : पेस्तोलसहित समातिए पूर्व मुख्यमन्त्रीका भाइ

दाङको तुलसीपुर उपमहानगरपालिका– ५ का निरजले आफ्नो पोल खोलिदिएको रिसइबीमा महावीरले गोली प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गोली हानी निरज चौधरीको हत्या : पेस्तोलसहित समातिए पूर्व मुख्यमन्त्रीका भाइ
काठमाडौं । बर्दियाको राजापुरमा गोली प्रहार गरी निरज चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बर्दियाको कैलारी गाउँपालिका– ५ बैजपुरबाट जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको टोलीले महावीर चौधरीलाई नियन्त्रणमा लिएको हो । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ का निरजले आफ्नो पोल खोलिदिएको रिसइबीमा महावीरले गोली प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हाल पक्राउ परेका महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् । बर्दियाको राजापुरमा रहेको हमार थारू रेस्टुरेन्टमा निरजमाथि गत मंसिर २२ गते गोली प्रहार भएको थियो । घाइते अवस्थामा निरजलाई उपचारका लागि नेपालगञ्ज पुर्‍याए पनि उपचारको क्रममा मृत्यु भएको थियो । निरजलाई गोली प्रहार गरेलगत्तै महावीर भने मोटरसाइकल चढेर कैलालीतर्फ भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलका अनुसार कैलाली प्रहरीको समन्वयमा महावीरलाई हसुलियाबाट पक्राउ गरिएको हो । प्रहरीले महावीरको साथबाट पेस्तोल समेत बरामद गरेको छ । एसपी पौडेलका अनुसार महावीरबाट बरामद भएको पेस्तोल निरजको हत्यामा प्रयोग भएरनभएको सम्बन्धमा अनुसन्धान भइरहेको छ । महावीरले हमार थारु रेष्टुरेन्टका सञ्चालक रामकुमारी चौधरीका श्रीमान् बुद्धिप्रसादले सञ्चालन गर्ने पोल्टी फार्ममा काम गर्दै आएका थिए । ‘महावीरको गलत क्रियाकलापका बारेमा पोल्टीफर्मका सञ्चालकलाई कुरा लगाइदिएपछि उनीहरूबीच मनमुटाव शुरू भएको रहेछ,’ एसपी पौडेलले भने, ‘कुरा लगाइदिएकै कारण निरजको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।’ प्रहरीले यो घटनामा यसअघि नै बुद्धिप्रसाद, उनकी श्रीमती र छोरा राहुललाई पक्राउ गरिसकेको छ ।