राष्ट्र बैंकद्वारा १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

साविककै आकार, रङ र ‘नेपाल सरकारको जमानत प्राप्त..’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश समावेश गरिएको यो नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।

राष्ट्र बैंकद्वारा १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै नयाँ विशेषतासहितको नोट बजारमा पठाएको जानकारी दिएको हो। साविककै आकार, रङ र ‘नेपाल सरकारको जमानत प्राप्त..’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश समावेश गरिएको यो नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार नयाँ नोटमा सुरक्षा र डिजाइनका हिसाबले केही महत्त्वपूर्ण परिवर्तनहरू गरिएको छ। नोटको पछाडिको मध्य भागमा यसअघि रहेको एकसिङ्गे गैँडाको ठाउँमा अब ‘एकसिङ्गे गैँडाको माउ र बच्चा’ को चित्र राखिएको छ। नोटमा २ मिलिमिटर चौडा भएको रङ परिवर्तन हुने सुरक्षण धागो राखिएको छ। यसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिन्छ। दृष्टिविहीन नागरिकहरूले नोट पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्लो राखिएको छ, जसलाई छामेर नोट पहिचान गर्न सकिन्छ।