काठमाडौं । नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भाग लिने निर्णय गरेको छ । शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै भाग लिने औपचारिक निर्णय गरिएको हो ।
निर्वाचनमार्फत नै संविधानको रक्षा तथा ‘जेनजी’ प्रदर्शनका क्रममा परिवर्तनका निम्ति उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने पार्टीको दृढ विश्वास रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका निम्ति निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय पनि गरिएको छ । निर्वाचनका निम्ति भयरहित वातावरण अपरिहार्य भए पनि हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउने परिस्थिति गम्भीर रहेको कांग्रेसको निष्कर्ष छ ।
चुनावका निम्ति निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण निर्माण गर्न निर्वाचन आयोग, सरकार र सम्बद्ध सबैलाई कांग्रेसले आग्रह गरेको छ ।
यस्तै, तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आमनागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न बैठकबाट माग गरिएको प्रवक्ता डा. महतले बताए ।
विश्वास र समझदारी आवश्यक भएकाले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवादमार्फत समाधान खोज्न समेत आह्वान गरिएको उनले जानकारी दिए ।
आगामी चुनावमा भाग लिने नेपाली कांग्रेसको निर्णय
निर्वाचनमार्फत नै संविधानको रक्षा तथा ‘जेनजी’ प्रदर्शनका क्रममा परिवर्तनका निम्ति उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने पार्टीको दृढ विश्वास रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

