मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रिय टर्मिनल भवनको सोमबार शिलान्यास गरेसँगै विराटनगर विमानस्थलको स्तरोन्नति सुरु भएको छ ।
उक्त टर्मिनल भवन भ्याटबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार लागतमा निर्माण सुरु भएको हो । १८ सय यात्रु क्षमताको टर्मिनल भवन निर्माणका लागि केसी र डाँफे जेभी निर्माण कम्पनीले गत मंसिर ११ गते ठेक्का सम्झौता गरेको छ । मुलुकमा नवनिर्मित पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय टर्मिनल भवनभन्दा ठूलो १६ हजार २७७ दशमलव ८३ वर्गमिटरमा उक्त टर्मिनल भवन निर्माण सुरु भएको नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक हंसराज पाण्डेले बताए ।
पाण्डेका अनुसार टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, बालबालिका खेल्ने, प्राथना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हललगायतको अत्याधुनिक सुविधा रहने छन् ।
यसअघि १३ अर्बको गुरुयोजना निर्माण गरी विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको विमानस्थलको रुपमा विस्तारका लागि तीन तहको सरकारबीच सम्झौता भएर जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको थियो । मन्त्रिपरिषद्को २०७७ कात्तिक २७ गतेको निर्णयले १२६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय अनुसार जिल्ला प्रशासन मोरङ र सुनसरीले जग्गाधनीहरुलाई मुआब्जा वितरणका लागि सार्वजनिक सूचनासमेत सार्वजनिक गरिसकेका थिए । तर अघिल्ला संघीय सरकारले मुआब्जा वितरणका लागि बजेट बिनियोजन नगरेपछि जग्गाधनीको दवावमा मन्त्रिपरिषद्को गत भदौ ३१ गतेको निर्णयले अघिल्लो निर्णय फिर्ता लिएका थिए ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, विराटनगर महानगर प्रमुख भीम पराजुलीलगायतको उपस्थितिमा नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरबीच त्रिपक्षीय सम्झौता भएको थियो । विमानस्थलको हाल रहेको एक हजार पाँच सय मिटर लम्बाईको धावनमार्गलाई तीन हजार मिटरमा बिस्तार गर्न सम्झौता गरेको थियो । विमानस्थल बिस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि संघीय सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत साझेदारी गर्ने सम्झदारी पत्रमा उल्लेख थियो ।
विराटनगर विमानस्थलबाट हाल यति एयरलायन्सको ४, बुद्ध एयरलायन्सको ७, सौर्यको २ र श्री एयरलायन्सको ३ गरी दैनिक १६ वटा उडान भइरहेको छ ।
मन्त्री किरातीले विमानस्थल विस्तार व्यापारिक योजना, सम्भाव्यता अध्ययन, आवश्यकता र स्थानीयको परामर्शमा अगाडि बढाउने प्रतिबद्धता जनाए । ‘अर्बौंको लागतमा विमानस्थल निर्माण गरेर घाम ताप्ने कार्य गर्नु हुँदैन,’ उनले भने, ‘प्रत्येक विमानस्थलको बिजनेस प्लानको आधारमा लगानी थपिने काम हुन्छ ।’ उनले पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि रुटलगायत सम्पूर्ण समस्या समाधानका लागि योजनाबद्ध रुपमा काम अघि बढाएको बताए । रुट परमिटको समस्या समाधानका लागि कूटनीतिक पहल गर्न टोली खटाइसकेको किरातीको भनाइ थियो ।
नागरिक उड्डयन प्राधिकरणलाई मुनाफामा लग्नका लागि प्रत्येक विमान दैनिक १५ घण्टाभन्दा बढी चलाउने गरी काम अघि बढाएको मन्त्री किरातीले बताए । ‘विराटनगर विमानस्थलबाट पहाडी तथा हिमाली क्षेत्रमा उडानका साथै सबै विमानस्थलको कार्य योजना बनाउने काम भइरहेको र त्यसपछि अनुगमन गरेर योजना कार्यान्वयनमा जान्छौं,’ उनले भने, ‘तर विमानस्थल सञ्चालन भएपछि अन्तर्राष्ट्रिय स्तरको तारे होटलको मात्रै विकास हुनु हुँदैन, स्थानीय परिकार, पर्यटन, संस्कृतिको समेत प्रबर्द्धन हुनुपर्छ र त्यसको प्रत्यक्ष लाभ तल्लोस्तरको सर्वसाधारणले समेत पाउनु पर्छ ।’
विराटनगर विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन शिलान्यास
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रिय टर्मिनल भवनको सोमबार शिलान्यास गरेसँगै विराटनगर विमानस्थलको स्तरोन्नति सुरु भएको छ ।

