निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड

प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा आज आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड
काठमार्डौ । प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुले निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक विचार समाजले मुलुकको समसामयिक विषयमा आज आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले निर्वाचन अगाडि पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् । समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाका लागि प्रजातान्त्रिक विचार समाज सधैं अग्रमोर्चामा उभिने बताए । उनले प्रेस स्वतन्त्रता, आवधिक निर्वाचनलाई आत्मसाथ गरेको प्रजातान्त्रिक विचार समाजले पछिल्लो समय आवधिक निर्वाचनलाई स्वीकार गर्न नसकेको बताए । वरिष्ठ पत्रकार तारानाथ दाहालले जेनजी आन्दोलन नेपालको प्रजातान्त्रिक इतिहासमा ऐतिहासिक आन्दोलन भएकाले जेनजी आन्दोलनलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए । आगामी निर्वाचनलाई सफल बनाउनका लागि हामी सबै लाग्नुपर्ने उनको भनाइ थियो । निर्वाचन गराउने दायित्व सरकारसँगै राजनीतिक दलको समेत भएको उनले बताए । समाजका संस्थापक सदस्य श्रीहरि अर्यालले कांग्रेसले मुलुकको नेतृत्व गर्नका लागि पार्टीभित्रको विधानलाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताए । तत्कालका लागि कांग्रेसले महाधिवेशन गरेर निर्वाचन जानुपर्ने उनको भनाइ थियो । वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले संविधानभित्रको समस्याको निकाश खोजेर अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । राजनीतिक पार्टीले संविधान संशोधनको एजेण्डालाई लिएर अदालतमा जानसके संसद् पुनःस्थापना हुन सक्नेतर्फ उनको थियो । कांग्रेसभित्र नेतृत्व परिवर्तन गरेर निर्वाचन जानुपर्ने उनले बताए ।