कुलमानको 'उज्यालो नेपाल पार्टी'बाट बाहिरियो सुधन गुरुङको टिम

कोशी प्रदेशका संयोजक उपार्जुन चाम्लिङले भने तत्कालका लागि केन्द्रीय सदस्य नबन्ने बताएका थिए । व्यक्ति केन्द्रित पार्टी बनाउँदा सबै जेनजीहरुलाई सम्बोधन गर्न नसकिने भन्दै उनले केन्द्रीय सदस्य नबन्ने बताएका थिए ।

कुलमानको 'उज्यालो नेपाल पार्टी'बाट बाहिरियो सुधन गुरुङको टिम
काठमाडौं । कुलमान घिसिङको पार्टी उज्यालो नेपालबाट हामी नेपालका संस्थापक सुधन गुरुङको टिम बाहिरिएको छ । पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय सदस्य रहने गरी कुलमानको टिमले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिँदा सुधनको टिमका भने कोही पनि समावेश छैनन् । आज बिहानसम्म पनि सुधनको टिमका जेनजीहरु कुलमानको पार्टीमा रहने पक्कापक्की जस्तै थियो । सुधनको टिमका मधेश प्रदेश संयोजक शिव यादव, बागमती प्रदेशकी संयोजक अफ्साना बानु, गण्डकी प्रदेशका संयोजक प्रदीप पाण्डे, लुम्बिनी प्रदेशका संयोजक आदित्य आचार्य, कर्णाली प्रदेश संयोजक सुप्रिया शाही र सुदूरपश्चिम प्रदेशका संयोजक खेमराज साउद कुलमानको पार्टीको पार्टीमा केन्द्रीय सदस्य बन्ने पक्का जस्तै थियो । कोशी प्रदेशका संयोजक उपार्जुन चाम्लिङले भने तत्कालका लागि केन्द्रीय सदस्य नबन्ने बताएका थिए । व्यक्ति केन्द्रित पार्टी बनाउँदा सबै जेनजीहरुलाई सम्बोधन गर्न नसकिने भन्दै उनले केन्द्रीय सदस्य नबन्ने बताएका थिए । उपार्जुनकै लाइनमा सुधन पनि उभिएका थिए । यसपछि अन्तिम समयमा आइपुग्दा अन्य प्रदेश संयोजकहरू पनि फिर्ता भए । उपार्जुनले भने, ‘आम नेपाली जनताले जेनजीको पार्टी हो भन्ने विश्वास गर्न सक्ने दल हामीलाई चाहिएको हो । घाइते, शहीदको परिवार र समग्र जेनजीहरुको भावनालाई सम्बोधन हुने गरी पार्टी गठन हुनुपर्ने हाम्रो सर्त भएकाले हामी उज्यालो नेपालबाट ब्याक भएका हौँ ।’ सबै जेनजीलाई सम्बोधन हुने गरी पार्टी गठनबारे आफूहरू छलफलमै रहेको उनले बताए । उज्यालो नेपालमा नरहे पनि कुलमानलाई सडकबाटै साथ दिने समेत बताए । निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपालमा अभिनेत्री रिमा विश्वकर्मादेखि टासी ल्हान्जोमसम्म समावेश छन् ।