‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित

विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन् भनने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ ।

‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन् भनने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ । उनले आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकिएको जनाउँदै अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको बताइन् । आन्तरिक उडानबाट काठमाडौँ आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गरिन् । रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ । उक्त लाइटिङमा देखिएको समस्या समाधानको प्रयास भइरहेकाले शीघ्र नियमित उडान हुने उनले जानकारी दिइन् ।