न्यूयोर्कको मेयर जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए मःम

मेयर निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र अन्य तयारीमा बित्यो। तर मेरो सांसद एलेक्जान्द्रिया ओकासियो–कोर्टेज (एओसी) सँगको लञ्च विशेष रह्यो, उनले एक्समा लेखेका छन्।

न्यूयोर्कको मेयर जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए मःम
काठमाडौं । ३४ वर्षीय जोहरन ममदानी विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्कको मेयर निर्वाचित भएपछि चर्चामा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई हराउन भरमग्धुर प्रयत्न गरे पनि उनले चुनाव जिते । अमेरिकामा उनी पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका छन्। मेयर निर्वाचित भएपछि ममदानीले नेपाली रेस्टुरेन्टमा लञ्च गरेका छन्। बुधबार ज्याक्सन हाइट्सस्थित लालिगुरास बिस्ट्रो नामको नेपाली रेस्टुरेन्टमा उनी लञ्चका लागि पुगेका हुन्। त्यहाँ उनी मःम, चाउमिन, आलु र दूधको चियामा रमाइरहेको देखिएका छन्। उनले नेपाली रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स अकाउन्टबाट साझा गरेका छन्। उनीसँगै अमेरिकी सांसद एलेक्जान्द्रिया ओकासियो–कोर्टेज (एओसी) पनि लञ्चमा सहभागी थिइन्। मेयर निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र अन्य तयारीमा बित्यो। तर मेरो सांसद एलेक्जान्द्रिया ओकासियो–कोर्टेज (एओसी) सँगको लञ्च विशेष रह्यो, उनले एक्समा लेखेका छन्। ज्याक्सन हाइट्स न्यूयोर्क सिटीको बहुसांस्कृतिक क्षेत्र हो। जहाँ नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानीसहित दक्षिण एसियाली आप्रवासी समुदायको बाक्लो बसोबास छ। यहाँका नेपाली रेस्टुरेन्टहरू स्थानीय र विदेशी दुवैबीच लोकप्रिय छन्। म:मदानको यो भेटलाई सामाजिक सञ्जालमा धेरैले ‘सांस्कृतिक विविधता र समुदायसँगको नजिकोपनाको उदाहरण’का रूपमा स्वागत गरेका छन्।