आईसीसी क्रिकेट विश्वकप लिग–२ : अमेरिकाद्वारा यूएई २४३ रनले पराजित

यूएईलाई सस्तैमा समेट्न अमेरिकाका रुसिल उगारकले सर्वाधिक पाँच विकेट लिए । ८.१ ओभर बलिङ गरेका उनले एक मेडन फाल्दै २२ रनमात्र खर्चिए । सौरभ नेत्रावाल्करले तीन विकेट लिए । सुभम रञ्जाने र मिलिन्द कुमारले समान एक–एक विकेट लिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ : अमेरिकाद्वारा यूएई २४३ रनले पराजित
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध २४३ रनको फराकिलो जित निकालेको छ । सोमबार दुबईमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.१ ओभरमा ४९ रनमै समेटियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईको यो अहिलेसम्मकै कमजोर स्कोर हो । यसअघि, यूएई सन् २०२३ को मार्चमा नेपालविरुद्ध ७१ रनमा समेटिएको थियो । यूएईका जुनैद सिद्दिकीले सर्वाधिक १० रन बनाए । यसबाहेक, घरेलु टिमका कुनै पनि ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । यूएईलाई सस्तैमा समेट्न अमेरिकाका रुसिल उगारकले सर्वाधिक पाँच विकेट लिए । ८.१ ओभर बलिङ गरेका उनले एक मेडन फाल्दै २२ रनमात्र खर्चिए । सौरभ नेत्रावाल्करले तीन विकेट लिए । सुभम रञ्जाने र मिलिन्द कुमारले समान एक–एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको अमेरिकाले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर २९२ रनको योगफल खडा गरेको थियो । अमेरिकाका साइतेजा मुक्कामला र मिलिन्द कुमारले शतकीय इनिङ खेले । इनिङको अन्तिमसम्म अविजित रहेका मुक्कामलाले सर्वाधिक १३७ रन बनाए । यस्तै, मिलिन्दले १२३ रन थपे । यी दुईले २८–३ को स्थितिबाट २६४ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ सम्हालेका थिए । अब यूएईले जारी शृंंखलाको अन्तिम खेलमा नेपालविरुद्ध नोभेम्बर ५ मा खेल्ने तालिका छ ।