यी स्थानका मुख्य सडक अवरुद्ध (सूचीसहित)

मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा कान्ति लोकपथ सडकखण्ड अवरुद्ध छ । आइतबार (कात्तिक १६) बिहान करिब ६ः५५ बजे उक्त स्थानमा सडकमाथिबाट ठूला ढुंगा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यी स्थानका मुख्य सडक अवरुद्ध (सूचीसहित)
काठमाडौं । वर्षा र बाढीपहिरोसँगै देशका केही स्थानमा मुख्य सडक अवरुद्ध भएको छ । कान्ति लोकपथ, मध्यपहाडी लोकमार्ग, मेची राजमार्गलगायत सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा कान्ति लोकपथ सडकखण्ड अवरुद्ध छ । आइतबार (कात्तिक १६) बिहान करिब ६ः५५ बजे उक्त स्थानमा सडकमाथिबाट ठूला ढुंगा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । मकवानपुरमै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध छ । शनिबार (कात्तिक १५) बेलुका करिब सवा ५ बजे इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो खस्दा उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उता, तेह्रथुमको म्याङलुङ नगरपालिका–६, सिस्नेखोलानजिक मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । शनिबार राति उक्त स्थानमा सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । गएको जेठ ६ गतेदेखि संखुवासभामा कोसी राजमार्ग अवरुद्ध छ । उक्त दिन भोटखोला गाउँपालिका–४, बरुणखोलामा बाढी आएर ह्युमपाइप बगाउँदा खाँदबारीदेखि थुमसुर जाने कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । रुकुम पूर्वमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यो कात्तिक महिनाभरिका निम्ति बन्द गरिएको छ । उक्त राजमार्गअन्तर्गत सिस्ने गाउँपालिका–६, रानीकोट, किटानी, साँख क्षेत्रमा बाँकी रहेको निर्माण कार्यका निम्ति सडक बन्द गरिएको प्रहरीले जनाएको छ । बुधबार (कात्तिक १२) देखि कात्तिक ३० गतेसम्मका निम्ति बाटो पूर्ण रूपमा बन्द गरिएको हो । उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । रानीकोट, किटानी, साँखखण्ड प्रयोग गर्ने ठूला सवारीसाधनलाई कैचीमोड–धाउन्ने–पोखरा छिनखेत भएर जान भनिएको छ । यस्तै, रानीकोट, किटानी, साँखखण्ड प्रयोग गर्ने साना सवारीसाधनलाई कैचीमोड–धाउन्ने–नाथीगार्ड–धपेबाट जान आग्रह गरिएको छ । यता, इलाममा रातको समयमा मेची राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले हरेक दिन बेलुका ७ देखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो । प्रतिकूल मौसमसँगै बिहीबार (कात्तिक १३) बेलुकादेखि अर्को सूचना जारी नभएसम्मका निम्ति सवारी सञ्चालनको रोक कायम रहने जनाइएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, जोमसोम–कोरोला सडकखण्डस्थित छुसाङ र ताङवेबीचको कालाभीरमा लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । आइतबार बिहान सवा ७ बजेसम्म प्रहरीको अपडेटअनुसार, काभ्रेपलाञ्चोकमा बीपी राजमार्ग सडकखण्ड विभिन्न स्थानमा अवरुद्ध छ । नमोबुद्ध नगरपालिका–६, चौकीडाँडा, रोशी गाउँपालिकाका विभिन्न स्थानस्थित बीपी राजमार्गखण्डमा सडकमाथिबाट लेदो र ढुंगा खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ सिमानास्थित तमोर–करिडोर सडकखण्ड पनि अवरुद्ध छ । रसुवामा पासाङल्हामु सडकखण्ड विभिन्न स्थानमा अवरुद्ध छ । गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी, बालुवाखानी, घट्टेखोला र फ्याङलुङमा सडकमाथिबाट ढुंगासहितको लेदो माटो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उता, इलाममा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।