जेनजी प्रदर्शनमा एसएलआर लुट्ने युवक पक्राउ, यसअघि ज्यान मार्नेदेखि ठगीसम्मका मुद्दा

जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीविरुद्ध २०६४ मा ज्यान मार्ने उद्योग, प्रहरी परिसर ललितपुरबाट २०७० मा ज्यान मार्ने उद्योग, प्रहरी वृत्त नयाँ बानेश्वरबाट २०७० मा ठगी र २०७९ मा महाराजगन्जबाट बैकिङ कसुर मुद्दा चलेको भेटिएको छ ।

जेनजी प्रदर्शनमा एसएलआर लुट्ने युवक पक्राउ, यसअघि ज्यान मार्नेदेखि ठगीसम्मका मुद्दा
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियार उर्फ सम्राट् छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले उनलाई मंगलबार सुनाकोठीबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ । परियारले एसएलआर बोकेर सिंहदरबार मुलगेटमा प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो । उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए । भिडियोमा प्रदर्शन गरेको हतियार परियारले नेपाली सेनालाई बुझाएको प्रहरीसँग बताएका छन् । तर, हतियार बुझाएको प्रमाण नभेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए । परियारको पृष्ठभूमि आपराधिक रहेको पाइएको छ । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ८ वटा मुद्दा चलेको अपराध रेकर्ड सिस्टममा देखिएको छ । ज्यान मार्ने उद्योग, ठगी, अभद्र व्यवहार र बैंकिङ कसुर मुद्दामा प्रहरीले उनलाई यसअघि पक्राउ गरेर अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनीविरुद्ध २०६४ मा ज्यान मार्ने उद्योग, प्रहरी परिसर ललितपुरबाट २०७० मा ज्यान मार्ने उद्योग, प्रहरी वृत्त नयाँ बानेश्वरबाट २०७० मा ठगी र २०७९ मा महाराजगन्जबाट बैकिङ कसुर मुद्दा चलेको भेटिएको छ । २०८० साउनमा ललितपुर परिसरबाट ठगी र २०६५ मा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलेको भेटिएको छ । २०७५ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट अभद्र व्यवहार र २०७१ मा स्वयम्भूबाट ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भएको भेटिएको छ ।