काठमाडौं । मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्। तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुनः चार जनाको नामसूची राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइएको हो।
आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले मात्र शपथ खाने छन्। शपथ समारोह दिउँसो २ बजे शीतल निवासमा हुँदै छ। ‘अहिलेलाई स्वास्थ्यमन्त्री पद खाली नै राखिएको छ’, स्रोतको भनाइ छ।
मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन्।
उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन्। गत वर्षको फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन्। मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।
यसअघि रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात) र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री बनिसकेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्ति गरेका हुन्। लगत्तै संसद् विघटन गरी आगामी फागुन २१ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचन पनि घोषणा भइसकेको छ।
मन्त्री बन्ने सूचीबाट हटाइयो डा. मिश्रको नाम
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।

