भाटभटेनीका तीन शाखामा भेटिए ११ जनाको शव

जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड, लुटपाट र आगजनी गरेर सबैभन्दा धेरै क्षति व्यहोरेको निजी व्यापारिक प्रतिष्ठान भाटभटेनीमा अहिलेसम्म देशभरीमा ११ जनाको शव फेला परिसकेको छ।

भाटभटेनीका तीन शाखामा भेटिए ११ जनाको शव
काठमाडौं । विराटनगरको भाटभटेनी सुपर स्टोरमा एक जनाको शव फेला परेको छ। जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड, लुटपाट र आगजनी गरेर सबैभन्दा धेरै क्षति व्यहोरेको निजी व्यापारिक प्रतिष्ठान भाटभटेनीमा अहिलेसम्म देशभरीमा ११ जनाको शव फेला परिसकेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सोमबार विराटनगरको भाटभटेनीमा भेटिएको शवको पहिचान खुलेको छैन। भदौ २४ को प्रदर्शनका क्रममा धरानस्थित भाटभटेनीमा भएको आगजनीमा चार जना, काठमाडौंको चुच्चेपाटीमा छ जना र विराटनगरमा एक जनाको शव भेटिएको छ। विराटनगरस्थित भाटभटेनीको इलेक्ट्रोनिक्स विभाग रहेको दोस्रो तल्लामा उक्त कंकाल भेटिएको हो। कंकाल प्रदर्शनकारीको हुनसक्ने प्रहरीले अनुमान छ। यस्तै, शव महिला हो कि पुरुष हो भन्ने यकिन नभएको प्रहरी भनाइ छ। भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनी र लुटपाटका क्रममा विराटनगरको भाटभटेनीभित्र सयौं व्यक्ति प्रवेश गरेका थिए। सामान लुटपाटका लागि प्रवेश गरेका व्यक्तिहरू आगजनी भएको थाहा नपाएर बाहिर निस्कन ढिलो गर्दा जलेको हुनसक्ने जनाइएको छ।