कुलमानसहित तीन मन्त्रीको शपथ आज ११ः३० बजे

राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीत्रय ओमप्रकाश अर्याल रामेश्वर खनाल र कुलमान घिसिङलाई अहिले बिहान ११ः३० बजे शपथ खुवाइने भएको हो।

कुलमानसहित तीन मन्त्रीको शपथ आज ११ः३० बजे
काठमाडौं । नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ। राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीत्रय ओमप्रकाश अर्याल रामेश्वर खनाल र कुलमान घिसिङलाई अहिले बिहान ११ः३० बजे शपथ खुवाइने भएको हो। पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय, भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्। यी नाम उनले आइतबारै राति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेकी छन्। जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकार प्रमुख (प्रधानमन्त्री) बनेकी हुन्। जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको अन्तरिम सरकारले जनाएको छ। अझै कैयौँ घाइते अस्पतालको शय्यामा छन्।