कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ : गगन थापा

सामाजिक सञ्जालबाट थापाले सोमबार जेनजीको प्रदर्शनमा युवाहरुले ज्यान गुमाउनु दुखद् भएको भन्दै यो दमनको जिम्मा लिएर अबिलम्ब प्रधानमन्त्रीले पद छोड्नु पर्ने उल्लेख गरेका हुन् ।

कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी तत्काल सरकारबाट बाहिरिनु पर्ने बताएका छन् । सामाजिक सञ्जालबाट थापाले सोमबार जेनजीको प्रदर्शनमा युवाहरुले ज्यान गुमाउनु दुखद् भएको भन्दै यो दमनको जिम्मा लिएर अबिलम्ब प्रधानमन्त्रीले पद छोड्नु पर्ने उल्लेख गरेका हुन् । ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,’ उनले भनेका छन् । यस्तो छ थापाको भनाइ रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।