काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ । तीनदिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधीहरू काठमाडौं आइपुगिसकेको गौतमले बताए ।
महाधिवेशनस्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ ।
गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ ।
महाधिवेशनस्थललाई सक्दो डिजिटलयुक्त बनाइएको छ । प्रतिनिधि परिचयपत्र स्क्यान गर्ने छवटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउनेछन् । प्रतिनिधीहरू चारवटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई झकिझकाउ बनाउन प्रवेशद्वारबाट महाधिवेशन हल छिर्दासाथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्वीर र दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ ।
हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका हुनेछन् । महाधिवेशनस्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्णकदका तस्वीर छन् । यसैगरी, कार्लमार्क्स, फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्वीरहरू राखिएका छन् ।
करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदनपछि करिब एक बजे एक घण्टाका लागि ‘खाजा ब्रेक’को कार्यक्रम रहेको छ । त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेस गरिनेछ । साँझ पाँच बजे आजका कार्यसूची सकिने गौतमले बताए ।
मञ्च व्यवस्थापन समिति संयोजक एवं पार्टी पोलिटब्युरो सदस्य विनोद श्रेष्ठका अनुसार हलबाहिर निरन्तर विभिन्न जात, जाती र समुदायका झाँकीहरू प्रस्तुत गरिनेछ । उक्त दृष्य हलभित्रका प्रतिनिधिहरूले डिजिटल बोर्डमार्फत हेर्नेछन् ।
भोलि प्रतिवेदनहरूमाथि नौवटा समूहमा छलफल हुने र पर्सी समूहले पेस गरेका प्रतिवेदन प्रस्तुतिसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ ।
एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो ।
एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि, ओलीले १२ मिनेटमा उद्घाटन सक्ने
तीनदिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

