गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य

यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरूबाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।

गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्णयअनुसार स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ । यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए । निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरूबाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाएको हो । यसक्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ । यसले इतिहासमै पहिलोपटक गाउँपालिका तथा नगरपालिकामा निमित्त प्र।प्र।अलाई शून्य पार्नुका साथै बाह्य राजनीतिक दबाब वा स्थानीय तहको मनपरी प्रभाव अन्त्य गरी मन्त्रालयले खटाएका प्र।प्र।अहरू अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहमा कार्यरत हुने वातावरण सृजना गरेको मन्त्रालयले जनाएको छ । सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएको र यसलाई निरन्तर सुधार र परिमार्जन गर्नेतर्फ आफू निरन्तर लागिरहेको मन्त्री न्यौपानेले बताइन् । ‘यस क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु । देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो’, मन्त्री न्यौपानेले भनिन्, ‘आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्तविहीन बनाइएको जानकारी गर्दछु । कर्मचारी मित्रहरूलाई आजबाट गाउँपालिका र नगरपालिकाहरूका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाउने कर्मचारी मित्रहरूलाई हार्दिक बधाई दिन्छु ।’