छ कार्यालय प्रमुखको एकसाथ सरुवा

ताप्लेजुङमा चार सुरक्षा अधिकारीसहित छ जना कार्यालय प्रमुखको एक साथ सरुवा भएको छ ।

छ कार्यालय प्रमुखको  एकसाथ सरुवा
काठमाडौँ । ताप्लेजुङमा चार सुरक्षा अधिकारीसहित छ जना कार्यालय प्रमुखको एक साथ सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारीसहित जिल्लाबाट नेपाली सेनाका प्रमुख, प्रहरी प्रमुखलगायतको सरुवा भएको हो । ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेल अन्यत्र सरुवा भएको छ । पोखरेलको सरुवा भएपछि नयाँ प्रजिअमा गोमादेवी चेम्जोङ आएकि छन्। चेम्जोङ ताप्लेजुङको पहिलो महिला प्रमुख जिल्ला अधिकारी भएकि हुन । यस्तै, नेपाली सेनाको जिल्लास्थित भीमकाली गुल्मका गुल्मपति सेनानी अदित श्रेष्ठको पनि सरुवा भएको छ । उनको ठाउँमा सेनानी पवन नगरकोटी आएका छन् । प्रमुख सेनानीमा पदोन्नति भएसँगै श्रेष्ठको यहाँबाट सरुवा भएको हो । ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईको पनि सरुवा भएको छ । राईको सरुवा भएपछि प्रहरी प्रमुखका रूपमा राजन लिम्बू यहाँ आएका हुन् । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख रमेश अधिकारीको पनि सरुवा भएको छ । प्रमुख अनुसन्धान अधिकृत अधिकारीको सुनसरी जिल्ला सरुवा भएपछि दुर्गाप्रसाद चापागाईँ ताप्लेजुङ आउका छन् । त्यस्तै, यहाँबाट जिल्ला निर्वाचन अधिकृत दिनेश खनालको सञ्चार मन्त्रालयमा सरुवा भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखा प्रमुख तुलमाया लोवाको पनि झापाको बिर्तामोड सरुवा भएको छ । यहाँ आउने नयाँ जिल्ला निर्वाचन अधिकारी र खाद्य शाखा प्रमुखको भने टुङ्गो लागिनसकेको बताइएको छ । यता कर्मचारी सरुवा भएर जाने र आउने क्रमसँगै ताप्लेजुङमा हाल तीनवटा मुख्य जिम्मेवारीमा महिलाको नेतृत्व भएको छ । तीन महिला नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला न्यायाधीशमा निर्मला योङ्या र जिल्ला न्यायाधिवक्तामा मोना सिंह हुनुहुन्छ । प्रजिअ चेम्जोङ, जिल्ला न्यायाधीश योङ्या र जिल्ला न्यायाधिवक्ता सिंह जिल्लामा पहिलो पटक सम्बन्धित कार्यालयको महिला कार्यालय प्रमुख बनेकि हुन्।