प्रहरीकै अगाडि कुटीकुटी वृद्धको हत्या

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने ५०र५५ वर्षीय सुरेन्द्र राउतले कुटीकुटी हत्या गरेका छन् ।

प्रहरीकै अगाडि कुटीकुटी वृद्धको हत्या
महोत्तरी । जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटेर वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने ५०र५५ वर्षीय सुरेन्द्र राउतले कुटीकुटी हत्या गरेका छन् । आज बेलुका साढे ४ बजेतिर गाउँभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पर्साचोकमा धान, चामललगायत अन्नपात खरिद–बिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागु पदार्थ सेवन गरेका सुरेन्द्रले हात, मुक्का र लात्तीले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरी चौकी पर्साको छेउमै व्यापार गरी बसेका हरिदेवलाई अचानक सुरेन्द्रले आएर गालीगलौज गर्न थालेको र पछि हातपात गर्दै बेस्सरी कुटपिट गरेका थिए । सोही क्रममा वृद्ध हरिदेवले त्यहाँ खटिएको प्रहरीलाई बचाउन गुहार पनि मागेका थिए । तर प्रहरीले उनलाई बचाउन नगएको र उनलाई प्रहरीकै अगाडि सुरेन्द्रले कुटीकुटी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी टोली पुगेर शवको सर्जमिन मुचुल्का गरिरहेको छ भने स्थानीयवासीले प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिरहेका छन् ।