काठमाडौंसहित यी स्थानमा आइतबार 'धेरै भारी' वर्षाको अनुमान

आइतबार (साउन ४) दिउँसो देशका केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुन सक्ने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

काठमाडौंसहित यी स्थानमा आइतबार 'धेरै भारी' वर्षाको अनुमान
काठमाडौं । देशका केही स्थानमा भारीरधेरै भारी वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार (साउन ३) रातिदेखि नै केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । आइतबार (साउन ४) दिउँसो देशका केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुन सक्ने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् । यो अवधिमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने अरू केही भूभागमा पनि छ । उनका अनुसार, यी प्रदेशमा शनिबार रातिदेखि आइतबार दिउँसोसम्म केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोसीदेखि गण्डकी प्रदेशसम्म यस्तो सम्भावना रहेको उनले बताइन् । गण्डकीबाट पश्चिम भूभागमा भने आइतबार रातिदेखि सोमबार (साउन ५) दिउँसोसम्म भारी वर्षाको सम्भावना छ । “गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म प्रभाव रहने देखिन्छ,” उनले भनिन्, “त्यहाँ थोरै स्थानमा हामीले भारीदेखि धेरै भारी वर्षाको सम्भावना भनेका छौँ ।” ठूलो वर्षा गराउने प्रणाली धेरै लामो समय रहने नदेखिएको उनले बताइन् । तत्काललाई सोमबार दिउँसोसम्म मात्र यसको असर देखिने सम्भावना छ । “सोमबार राति नै यसको प्रभाव रहँदैन, सोमबार दिउँसोसम्म मात्र हो,” उनले भनिन्, “यो धेरै लामो अवधिको होइन ।” हाल वर्षा हुने स्थिति छोटोछोटो समयमा परिवर्तन भइरहेको उनले बताइन् । त्यसैले लामो समय वर्षा भएको छैन । छोटो समयमै भारी वर्षा हुने उनले स्पष्ट पारिन् । “अहिले मोडेलहरू छिटोछिटो परिवर्तन भइरहेको छ,” उनले भनिन् । धेरै वर्षाको सम्भावना तराईभन्दा पहाडी भूभागमा बढी रहेको उनले जानकारी दिइन् । “सबै ठाउँमा भारी वा धेरै भारी वर्षा हुने होइन,” उनले भनिन्, “खण्डित वर्षा हुने, कुनैकुनै ठाउँमा – आइसोलेटेड भनिन्छ, त्यस्तो वर्षा हुनसक्छ ।” आइतबार दिउँसो वाग्मती प्रदेशमा पनि धेरै भारी वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका एकरदुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । वाग्मती प्रदेशभित्रै पर्ने देशको राजधानी काठमाडौंमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । “वाग्मती प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,” मौसमविद् मानन्धरले भनिन्, “काठमाडौंमा पनि त्यस्तो सम्भावना छ ।” आइतबार दिउँसोको समयमा काठमाडौंमा भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।