काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका एक पूर्वकर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुगमन प्रतिवेदनमार्फत घोटालालाई लुकाउने भूमिकामा रहेका राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई पक्राउ गरेको हो ।
सुनसरी स्थायी घर भई हाल काठमाडौं टोखा बस्दै आएका ६१ वर्षीय बस्नेतलाई सीआईबी टोलीले बुधबार पक्राउ गरेको हो । बस्नेत राष्ट्र बैंकमा कार्यरत रहँदा कर्णाली विकास बैंकको निरीक्षणका लागि खटिएका थिए । बैंक गम्भीर आर्थिक समस्यामा फसेको अवस्थामा समेत उनले अवस्था सामान्य रहेको भन्दै सकारात्मक प्रतिवेदन दिएको आरोप लागेको छ ।
यसअघि नै सीआईबीले अनुगमनमा संलग्न राष्ट्र बैंकका अधिकारीहरूको विवरण माग गर्दै पत्राचार गरेपछि राष्ट्र बैंक भित्रै तनावको स्थिति उत्पन्न भएको थियो । उक्त पत्राचारपछि राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले समेत चासो देखाएका थिए ।
बैंक घोटलामा संलग्नबाट बस्नेतको बैंक खातामा रकम जम्मा गरेको पाइएपछि उनी शंकाको घेरामा तानिएका थिए ।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार कर्णाली विकास बैंकको विभिन्न खातामा रहेको मौज्दात रकम र कोर बैंकिङ प्रणालीमा देखिएको रकमबीच व्यापक अन्तर देखिएपछि घोटालाको श्रृंखला बाहिरिएको हो । आन्तरिक छानबिन समितिले नक्कली ब्यालेन्स सर्टिफिकेटमार्फत वर्षौंसम्म अपचलन लुकाएको पुष्टि गरेपछि सीआईबीले अनुसन्धान थालेको थियो ।
यस घोटालामा यसअघि संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ । त्यस्तै, बैंकका अर्का पूर्वअध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रलाई नेपालगञ्जबाट नियन्त्रणमा लिइएको थियो । बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, नीरजविक्रम शाह लगायतका व्यक्तिहरूको संलग्नताबारे पनि गम्भीर अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ ।
पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाइने बताइएको छ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुसमै समस्याग्रस्त घोषणा गरेको थियो ।
कर्णाली विकास बैंक घोटाला प्रकरण : राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ
पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाइने बताइएको छ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुसमै समस्याग्रस्त घोषणा गरेको थियो ।

