मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा अलआउट हुनुअघि ९० रनमात्र बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११.४ ओभरमै केवल एक विकेट गुमाएर ९२ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा
काठमाडौं । नेपाली टोली मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा बिहीबार आयोजक मलेसियालाई नौ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाली टोलीले हङकङ र सिंगापुरबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ । दोस्रो सेमिफाइनल खेल पनि बिहीबार नै खेलिने छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा अलआउट हुनुअघि ९० रनमात्र बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११.४ ओभरमै केवल एक विकेट गुमाएर ९२ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । नेपाली टोलीको जितमा ओपनर परिमार्जन यादवले अर्धशतकीय योगदान गरे । उनले अविजित ५९ रन बनाए । यस क्रममा उनले ३५ बलको सामना गरी पाँच छक्का र पाँच चौका पनि हिर्काए । अर्का ओपनर प्रसिद्ध जैसी भने दुई रनको व्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका शिवांस बजगाइँले टोलीको खातामा अविजित २३ रन थपे । उनले २२ बलमा पाँच चौका पनि प्रहार गरे । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । त्यसअघि, नेपाली बलरसामु मलेसियाका ब्याट्सम्यानहरू प्रारम्भदेखि नै दबाबमा परेका थिए । मलेसियाका अघिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपाली टोलीका बलर अभय यादव एक्लैले चार विकेट हात पारेका थिए । उनले १० ओभरमा केवल १५ रन खर्चिए । शुभम खनालले पनि तीन विकेट लिए । उनले १० ओभरमा चार मेडन राख्दै केवल १२ रन खर्चिए । सचिन भट्ट र विपिन प्रसाद शर्माले पनि एक–एक विकेट कुम्ल्याए । टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै मलेसियाले ६ विकेट गुमाइसकेको थियो । मलेसियाका लागि सातौँ नम्बरका ब्याट्सम्यान मुहम्मद फाथुल मुइनले सर्वाधिक ३८ रन बनाए । उनले टोली अप्ठ्यारो स्थितिमा रहँदा जिम्मेबारीपूर्वक खेल्दै ७१ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान डियाज प्याट्रोले पनि १० रन जोडे । मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । मलेसियाले अतिरिक्त रुपमा १३ रन पायो । अतिरिक्त रूपमा पाएभन्दा बढी रन मलेसियाका एक ब्याट्सम्यानले मात्र बनाउन सकेका थिए । नेपाली टोली समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । नेपालले चारवटै खेल जित्दै आठ अंक बटुलेको थियो । उक्त समूहबाट सिंगापुर उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई नौ विकेटले हराएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा भने इन्डोनेसियामाथि तीन सय ७० रनको कीर्तिमानी जित हासिल गरेको थियो । नेपाली टोलीले समूहगत चरणको चौथो तथा अन्तिम खेलमा भुटानमाथि दुई सय ९८ रनको सजिलो जित हासिल गरेको थियो । समूह ‘बी’ बाट हङकङ विजेता र मलेसिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।