बालमन्दिर जग्गा प्रकरण: तत्कालिन महासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश

केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणको अनुसन्धान गरी मुद्दा सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो। २० जनाविरूद्ध ब्युरोले पक्राउ अनुमति लिएको थियो।

बालमन्दिर जग्गा प्रकरण: तत्कालिन महासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । काठमाडौंको बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनीसहित बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध वैशाख २४ गते अदालतमा मुद्दा दायर भएको थियो। सिंह उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन्। अरू प्रतिवादीहरू भने अदालत उपस्थित भएका छैनन्। गत वैशाख २३ गते महान्यायाधिवक्ता कार्यालयले उनीहरूविरूद्ध मुद्दा चलाउने निर्णय गरेको थियो। बालमन्दिरको जग्गा लिजमा दिँदा अनियमितता गरेको आरोप उनीहरूमाथि छ। नेपाल बाल संगठनलाई हानिनोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणको अनुसन्धान गरी मुद्दा सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो। २० जनाविरूद्ध ब्युरोले पक्राउ अनुमति लिएको थियो। तर सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरी पठाएको थियो। उक्त निर्णय उच्चले पनि सदर गरी महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो। कार्यालयले भने मुद्दा चलाउन निर्देशन दिएको हो।