गंगादेवि हत्या प्रकरण : कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

डिएसपीका अनुसार घटनास्थलमा नेपाल प्रहरी र प्राविधिक रुपमा नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले घटनाको अनुसन्धान गरिरहेको छ ।

गंगादेवि हत्या प्रकरण : कहाँ पुग्यो प्रहरी अनुसन्धान ?
रमा क्षेत्री, बागलुङ । बागलुङ बडिगाड गाउँपालिका -३ सिसाखानी घर भइ गुल्मीमा व्यवसाय गर्दै आएकी ५७ वर्षीया गंगादेवि शेरचनको हत्या भएको आज ८ दिन पुग्यो । जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी माधव खरेल नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको भएपनि अपराधी पत्ता लगाउन सकिरहेकाे छैन । डिएसपीका अनुसार घटनास्थलमा नेपाल प्रहरी र प्राविधिक रुपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाको अनुसन्धान गरिरहेको छ । ‘घटनास्थलमा नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ,’ उनले न्यूज खरीसँग भने, ‘प्राविधिक सहयाेग  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको छ ।’ डिएसपी खरेलले घटनाको सूस्म अनुसन्धान भइरहेको बताउँदै चाँडै अपराधी नजिक पुग्ने बताए । ‘अहिलेसम्म एक सय जना भन्दा बढी मानिसलाई सोधपुच्छ गर्ने काम भएको छ, केहीलाई निगरानीमा राखेका छौं,’ उनले भने, ‘आसपास भएको सीसीक्यामेरा र आशंका गरिएका व्यत्तिलाई निगरानीमा राख्ने काम भएको छ ।’ गत माघ १४ गते मुसिकोट नगरपालिका–१ हाँडिखोलामा खाजा पसल गर्दै आएकी शेरचनको शनिबार राति हत्या भएको थियो । शनिबार साँझ उनको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयवासी बताएका थिए । तर कुन व्यक्ति आयो भन्ने एकीन हुन नसकेको गंगादेविका दाई सुनिल शेरचनले जानकारी दिए । ‘बलात्कारपछि हत्या भयो भन्ने हाम्रो आशंका थियो,’ उनले भने, ‘घटनाको प्रकृत्ति हेर्दा लुटपाटपछि हत्या गरिएको प्रारम्भिक देखियो ।’ उनका अनुसार गंगादेवि शेरचनको साथमा भएको १० तोला थियो । गंगादेविको दुवै हातगोडा बाँधिएर घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान पनि गरेका थियाे ।