सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउँछु (प्रचण्ड)

प्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्।

सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउँछु (प्रचण्ड)
काठमाडौँ । प्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्दै सत्ता साझेदार दलहरूबीच एकतालाई जसरी पनि बचाउनुपर्छ भन्नेमा आफू रहेको बताएका छन् । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरि भेट गरी देखिएको समस्या तत्काल हल गर्ने उनको भनाइ थियो। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहजता भएको आफूले अनुभूति गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस्ता अप्ठ्यारालाई छलफल गरी हल गर्ने बताए। उनले भने ‘मैले उहाँहरूले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुने । मैले बिहान उहाँसँग भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ताचाहिँ होइन । मन्त्रीहरू बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नु हुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं । मेरो कोशिश त थियो राष्ट्रिय सहमति नै गरौं भनिराखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो । अदालतको निर्णयपछि पक्कै पनि पछि उहाँहरूलाई केही असहजता त भएकै थियो । अब उहाँसँग फेरि भेटेर कुरा गर्छु ।’ प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आइतबार (आज) बिहान भएको भेटमा मन्त्रीहरू फिर्ता बोलाए पनि सरकारलाईं दिएको समर्थन भने फिर्ता नगर्ने बताएका स्मरण गराए।