अस्ट्रेलियाको राजधानीमा नेपथ्यको पहिलो कन्सर्ट

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यले पहिलो पटक सांगीतिक प्रस्तुति दिएका छन्।

अस्ट्रेलियाको राजधानीमा नेपथ्यको पहिलो कन्सर्ट
काठमाडौा । अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपथ्यले पहिलो पटक सांगीतिक प्रस्तुति दिएका छन्। क्यानबेरास्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा शुक्रबार नेपथ्यको कन्सर्ट शुरू भएको थियो। कन्सर्टमा नेपथ्यले ‘आँगनैभरि हिउँनै झरे’बाट प्रस्तुत गरेका थिए। त्यसपछि ‘छेक्यो छेक्यो’सँगै ‘भेँडाको ऊनजस्तो’, ‘लामपाते सुरती’, ‘चरि मर्‍यो’ र ‘जोमसोमे बजार’ जस्ता गीतहरूले निरन्तरता पाएको थियो। त्यस्तै, ‘नैनाताल’, ‘यो जिन्दगानी’, ‘मै नाचे छमछमी’, ‘रेशम’ हुँदै ‘तालको पानी’ सुनाइएको थियो। अन्तिममा भने ‘रातो र चन्द्रसूर्जे’ सुनाएर कार्यक्रम समापन गरिएको थियो।   नेपाली दर्शकको साथ पाइरहँदा एक मनले खुशी र अर्को मनले दुःखी पनि महसूस गरेको नेपथ्यका प्रमुख गायक अमृत गुरुङले बताए। “तपाइहरू यहाँ आएर उज्वल भविष्यका लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुशी छु,” गुरुङले भने, “तर, यत्तिका उर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता कता नरमाइलो पनि भइरहेको छ।” मञ्चमा अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए। यसपटकको श्रृंखलावद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुतिपछि नेपथ्य वेस्टर्न अस्ट्रेलिया राज्यको राजधानी पर्थ पुगेको छ।