माइतीघरमा क्यान र सन्दीपविरुद्ध प्रदर्शन

नाबालिग किशोरी बलात्कार आरोप लागेका पूर्वक्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएपछि खेलमा फर्काउने नेपाल क्रिकेट संघ क्यान को निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ।

माइतीघरमा क्यान र सन्दीपविरुद्ध प्रदर्शन
काठमाडौं । नाबालिग किशोरी बलात्कार आरोप लागेका पूर्वक्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएपछि खेलमा फर्काउने नेपाल क्रिकेट संघ क्यान को निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ। शनिबार क्रिकेटर राष्ट्रिय टिममा समावेश गरिएको भन्दै क्यान र लामिछानेविरुद्ध विरोधमा प्रदर्शन भएको हो। यसअघि सन्दीपलाई क्यानले बलात्कार आरोप लागेपछि निलम्बन गरेको थियो। गत मंगलबार बसेको क्यान बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गरेको हो। युवायुवती र महिलावादी अभियन्ताको पहलमा भएको विरोध प्रदर्शनमा क्रिकेट संघविरुद्ध नाराबाजी गरिनुका साथै सहभागीले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए। क्यानले लामिछानेलाई शुक्रबारबाट बन्द प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेसँगै विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। क्यानले आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि लामिछानेसँगै २० जनालाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ।