काठमाडौं । प्रभु बैंकको नाफामा सामान्य सुधार आएको छ। बैंकले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासिक वित्तीय विवरणमा नाफामा सुधार आएको उल्लेख गरेको हो।
जसअनुसार बैंकले चैत मसान्तसम्म कूल १ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष सोही अवधिको तुलनामा बैंकको नाफा ६ करोड बढेको हो। गत वर्ष चैत मसान्तसम्म बैंकका नाफा १ अर्ब ८१ करोड रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा उल्लेख्य सुधार गर्न नसक्दा त्यसको असर नाफामा देखिएको हो।
चैतसम्म बैंकले खुद ब्याज आम्दानी शीर्षकमा ७ अर्ब ८ करोड रुपैयाँ कमाएको छ। गत वर्ष भने सो अवधिमा बैंकको यस्तो आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ थियो।
चालु आवमा बैंकको खुद ब्याज आम्दानी घटेको हो। ब्याजदर घटेर एकल अंकमा आइपुग्दाको असर बैंकको ब्याजआम्दानीमा देखिएको हो।
यस्तै कर्जा प्रवाह पनि अपेक्षाअनुसार बढ्न नसक्दा त्यसको असर बैंकको नाफामा देखिएको छ।
यो अवधिमा बैंकको खुद सञ्चालन आम्दानी पनि ८ अर्ब ३८ करोड रुपैयाँ भएको छ। गत वर्ष सोही अवधिमा यस्तै आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ छ।
यस्तै खुद सञ्चालन नाफा शीर्षकमा बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ कमाएको छ। गत वर्ष बैंकको यस्तो नाफा ३ अर्ब ७५ करोड रुपैयाँ थियो।
यो अवधिमा बैंकको ब्याजआम्दानी,सञ्चालन नाफा लगायतका नाफामा संकुचन आए पनि बैंकको खुद नाफा भने सामान्य बढेको छ।
बैंकले प्रमुख आय ब्याज आम्दानी घट्ने भएपछि बैंकले सञ्चालन खर्च कटौती गरेको छ भने बढ्दो खराब कर्जालाई ध्यान दिई कर्जा प्रवाहलाई संकुचित बनाएको छ।
गत वर्ष चैत मसान्तसम्म १० करोड ५६ लाख बराबरको कर्जा नोक्सानी व्यवस्थापन गरेको बैंकले चालु आवको सो अवधिमा पनि १० करोड ५६ लाख रुपैयाँ नै कर्जा नोक्सानी व्यवस्थापन कोषमा राखेको छ। बैंकको चैतमसान्तसम्म खराब कर्जा ५.०९ प्रतिशत छ।

