काठमाडौं । हटौंडा उपमहानगरपालिकाले एक सैलुन व्यवसायीलाई एसी र इन्भर्टर दिन तोक लगाइदिएपछि सामाजिक सञ्जालमा चर्चा भएको छ । हेटौँडा ४ मा सुरु गरिएको द नाइन्टिन सैलुनको उद्घाटन गर्न पुगेकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले उद्घाटनको क्रममा ‘यहाँ गर्मी रहेछ, एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्छु’ भन्ने वाचा बमोजिम तोक लगाइदिपछि सो विषय चर्चामा आएको हो । बसैलुन सञ्चालक सुसन घलानले अब गर्मीको महिना सुरु भएको र आफ्नो सैलुनमा ग्राहकको भिड बढेको भन्दै उपमहानगर समक्ष एक थान एसी र एक थान इन्भर्टरको लागि निवेदन दिए ।
उपमहानगरले पनि निवेदकको माग बमोजिम माग भएको सामानको लागत अनुमान तयार गरी दिनु भन्ने तोक लगाएपछि उक्त पत्र सामाजिक सञ्जालमा एकाएक भाइरल भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा निजी व्यवसायलाई एसी दिने गरी तोक लगाउनु सुशासनको खिलाफ भन्ने आशयले तर्क गरिरहेका छन् । लामा समर्थक कतिपयले भने युवाहरूले सुरु गरेको व्यवसायलाई स्थानीय सरकारले प्रोत्साहन गरेको टिप्पणी गरेका छन् । यो विषयमा उपमहानगरले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।


