काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ । बैठक दिउँसो २ बजेबाट सुरु हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति र अघिल्लो बैठकको निर्णय समीक्षा हुनेछ । साथै, ब्लुप्रिन्ट कार्यदल र सदस्यहरूको संक्षिप्त रिपोर्टिङ पनि एजेन्डामा छ ।
बैठकमा विशेष चर्चा हुने अर्को विषय केही समयअघि थालिएको ‘जनयात्रा’ कार्यक्रम हो । रास्वपाले २३ चैतमा चितवनबाट जनयात्रा सुरु गरे पनि सभापति रवि लामिछानेविरुद्ध अदालतबाट थुनामा पठाउने आदेशसँगै कार्यक्रम अन्योलमा परेको थियो ।
पहिलो दिन चितवनमा सभा गरेपछि कार्यक्रम रोकिएको छ । बैठकमा पार्टीको पहिलो महाधिवेशनको तयारीबारे समेत छलफल हुनेछ । रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

