तोरीले पहेँलपुर रत्नेचौर पर्यटकीय गन्तव्य बन्दै

शिशिर ऋतुको समयमा खुलेको मौसम ।

तोरीले पहेँलपुर रत्नेचौर पर्यटकीय गन्तव्य बन्दै
काठमाडौँ । शिशिर ऋतुको समयमा खुलेको मौसम । गाउँको खेत र बारीमा पहेँलै तोरी फुलेको छ । तोरीसँगै लगाएको गहुँ र केराउले हरियाली छाएको छ । उत्तरतर्फ फर्किएर हेर्दा सेताम्मे हिमाल देखिन्छ । गाउँको बीचमा कालोपत्र गरेको चिल्लो सडक छ । बारीभरी पहेँलपुर तोरीको फूलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन् । बारीको छेउकुना तथा सडकको दायाँ र बायाँ मानिसहरु भुलिरहेका छन् । पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा परम्परागत तथा आधुनिक घरहरु छन् । यस्तो दृश्यले भरिएको बेनी–बाग्लुङ सडक खण्डको बीचमा पर्ने रत्नेचौर अहिले भाइरल हुन पुगेको छ् ।   म्याग्दीको बेनी नगरपालिका–१, मा पर्ने रत्नेचौर समुद्री सतहदेखि ७ सय ९२ मिटरको उचाइमा पर्दछ । रत्नेचौरको खेत, बारीमा लगाएको तोरी फुलेर रत्नेचौर गाउँ नै पहेँलपुर बनेको छ । तोरीले पहेँलै तथा गहुँ र केराउले हरियाली छाएपछि यतिबेला रत्नेचौर निकै सुन्दर, आकर्षक र मनमोहक देखिएको छ । रत्नेचौरमा तोरी फुलेपछि अहिले तोरीबारीमा फोटो, भिडियो र सेल्फी खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको छ ।   अहिले तोरी फुलेर पहेँलपुर बनेपछि रत्नेचौरको तोरी बारीमा पुगेर फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरुको भिड बढ्दै गएको छ । रत्नेचौरबाट संसारको सातौँ अग्लो ८ हजार १ सय ६७ मिटर उचाइको चुचुरो धौलागिरी हिमाल देखिन्छ । तोरी फुलेर पहेँलै बनेको रत्नेचौरमा खेतको बीच सडकमा कालोपत्रे गरिएपछि देखिएको चिल्लो सडकले थप रौनकता थपेको स्थानीयवासी बताउँछन् । अहिले रत्नेचौरवासीले पोहोरको तुलनामा कम तोरी लगाएको भए पनि रत्नेचौर भ्रमण गर्नेहरुको भने आकर्षण बढेको छ । तोरीकै कारणले गर्दा भाइरल बनेको रत्नेचौर पर्यटकीय गन्तव्य बन्दै गएको छ ।   रत्नेचौर क्षेत्र र तोरीबारीको भ्रमणमा म्याग्दीसहित बाग्लुङ, पर्वत, मुस्ताङको विभिन्न ठाउँका साथै पोखरा, काठमाण्डौ, चितवन, भैरहवालगायत जिल्ला र ठाउँबाट पर्यटकहरु आउने गरेको स्थानीय भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले जानकारी दिनुभयो । रत्नेचौरमा अहिले दैनिकजसो पर्यटकहरु घुम्न जाने गरेका छन् भने बिदाको दिन र शनिवार भने बिहानदेखि बेलुकासम्म सयौँको सङ्ख्यामा पर्यटक पुग्छन् । पहेँलपुर फुलेको रत्नेचौर पुग्ने पर्यटकहरु फोटो, भिडियो र सेल्फी खिच्ने तथा टिकटक बनाएर रमाउने गर्छन् । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्य र पहेँलपुर तोरीले रत्नेचौरको पर्यटन प्रवर्द्धनमा सघाएको छ । पछिल्लोपटक रत्नेचौर क्षेत्रमा सानादेखि ठूला होटल तथा रेष्टुरेण्टहरु खुलिरहेका छन् । यसका साथै म्याग्दीको रत्नेचौर र छिमेकी जिल्ला बाग्लुङलाई जोड्ने रत्नेचौर–कुँडुले ३ सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि पुलमा रमाउने पर्यटकहरु पनि बढेका छन् । रत्नेचौरमा पछिल्लोपटक स्वदेशी पर्यटकहरुको चहलपहल बढेको छ । रत्नेचौरमा पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो ।मौरीपालन तथा मह उत्पादनका लागि उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । ग्रामीण भेगमा फुलेको तोरीले गाउँको सुन्दरतामा निखारपन ल्याएको छ ।नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका गाउँमा पहेँलो रङको तोरीको खेती अधिक मात्रामा हुने गरेको छ । पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुने कृषि प्राविधिकहरु बताउँछन् । तेलहन बालीअन्तर्गत पर्ने तोरी ३ महिनाको अवधिमा पाक्छ ।   समथर भू–भाग रहेको रत्नेचौरमा अहिलेको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिने यहाँका किसान बताउँछन् । रत्नेचौरमा तोरीकै कारण पर्यटक आगमन बढ्नुका साथै प्रचारप्रसार भएकाले आउँदो वर्ष ‘तोरी–महोत्सव’ आयोजना गरिने रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाले जानकारी दिएका छन् ।