काठमाडौं । नेकपा एमालेले चैत १५ गते भएको भएको विध्वंसात्मक घटनाको विषयमा पूर्व राजाले गाह्रो मानीमानी दुःख व्यक्त गरेको जनाएको छ । तर घटनाको मुख्य जिम्मेवारी नलिने र जवाफ दिनबाट पन्छिएको टिप्पणी गरेको छ ।
‘१५ गतेको घटनाबारे पूर्व राजा ज्ञानेन्द्रले गाह्रो मानीमानी दुःख प्रकट गर्नुभयो । तर जिम्मेवारी लिनुभएन । मलाई साथ दिनु भनिसकेपछि उहाँले कमान्ड तोकिसकेपछि उहाँकै कमाण्डको नेतृत्वमा चैत १५ गते यी सबै कुरा भइसकेपछि उहाँ जवाफदेही बन्नुपर्थ्यो,’ सचिवालयको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘उहाँ जवाफ दिनबाट पन्छिनुभयो । यत्रो ठूलो घटना घटे पनि उहाँको अभिव्यक्तिमा स्वीकार्नुभएन । हिँडेको बाटो अनावश्यक र व्यर्थको प्रयत्न रहेछ, जिम्मा दिएका व्यक्ति पनि गलत रहेछन् भन्नुपर्ने थियो । यसैले मुलुकको प्रणालीलाई सघाएर अगाडि बढ्छु भन्नुपर्ने थियो ।’ तर पछुताउनुपर्नेमा उल्टै अहिलेको तन्त्रलाई दोष दिएको भन्दै ज्ञवालीले आपत्ति जनाए ।
उपमहासचिव ज्ञवालीका अनुसार बैठकले यसपटकको पार्टी स्थापना दिवसमा विगत वर्षमा जस्तै कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्ने विशिष्ट व्यक्ति कम्युनिस्ट योद्धाको रूपमा सम्मान गर्ने निर्णय गरेको छ । जसमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) लाई सम्मानित गरिनेछ ।
साथै वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको उपमहासचिव ज्ञावलीले प्रष्ट पारेका छन् ।
सचिवालय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको निष्कर्ष निकालेको उनले जानकारी दिए । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरु गरिरहनुभएको छ । यसले उहाँमा सरकारबाहिर रहँदाको एक खालको कुण्ठा, एकखालको पीडाबोध प्रकट हुन्छ,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भने, ‘अहिले सरकार परिवर्तन न कतैबाट संभव छ, न त्यसको सान्दर्भिकता छ, न औचित्य छ ।’
बैशाख ११ गते काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्त्व बताउने अवसरको रूपमा सेलेब्रेसनस्वरूप भव्य कार्यक्रम गर्ने सचिवालय बैठकले निर्णय गरेको हो ।

