चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका एक सैनिकको गोली लागेर ज्यान गएको छ । नेपाली सेनाको नयाँ गोरख गणमा कार्यरत सैनिक जवान २२ वर्षका चन्द्रकिशोर दासको गोली लागेर ज्यान गएको हो ।
नयाँ गोरख गणका गणपति शिवराम बस्न्यातका अनुसार गस्तीबाट फर्किएर हतियार थन्क्याउने बेला आफैले बोकेको बन्दुकको गोली लागेको हो । उनका अनुसार गस्तीबाट फर्किएपछि हतियार परीक्षण गरेर राख्ने गरिन्छ ।
सोही क्रममा सेतीदेवी सामुदायिक वनबाट गस्ती गरेर फर्किएपछि हतियार थन्क्याउनु अघि परीक्षण गर्दा झुक्किएर गोली लागेको उनले बताए । बिहान ९ बजे गोली लागेका सैनिक जवान दासको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जनाइएको छ ।

