नेपाली युवालाई युएईमा ८२ करोडको चिठ्ठा पर्यो

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए ।

नेपाली युवालाई युएईमा ८२ करोडको चिठ्ठा पर्यो
काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन् । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए । पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन्। पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ। ‘यो कार्यक्रममार्फत नगद, सुन र ड्रीम कार पुरस्कार जित्ने मेरो प्रयास जारी राख्नेछु’, उनले भने। ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए। यस्तै सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए।