काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा फेरि विवाद सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रकरण सेलाउन नपाउँदै राज्यमन्त्री पूर्णबहादुर तामाङ र सचिव सुरेश आचार्यबीच नयाँ विवाद चर्किएको हो ।
राज्यमन्त्री तामाङले सचिव आचार्यमाथि पदीय आचरण विपरीत व्यवहार गरेको आरोप लगाउँदै २४ घण्टे स्पष्टीकरण मागेका छन् । २५ चैतमा जलस्रोत तथा सिँचाइ विभागद्वारा आयोजित कार्यक्रममा ( मन्त्री अनुपस्थित थिए) तामाङ प्रमुख अतिथि रहेका बेला सचिव आचार्यले मञ्चमा आसन ग्रहण नगरी कार्यक्रम बहिष्कार गरेको राज्यमन्त्रीको दाबी छ ।
साथै, उनले आफू बस्न तयार नरहेको भन्ने अभिव्यक्ति सचिवले दिएको भन्दै अपमानजनक व्यवहारको आरोप लगाएका छन् । स्पष्टीकरण पत्रमा सचिव आचार्यले कसको प्रभाव वा पूर्वाग्रही धारणा अनुरूप यस्तो कदम चालेको हो भन्ने स्पष्ट गर्न भनिएको छ।


