काठमाडौं । शनिबार सम्पन्न नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको दोस्रो दिनको मतगणना जारी छ ।
दुई हजार बढी मत गणना हुँदा नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्रा डा. विजयप्रसाद मिश्रले एक हजार २९५ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ६८२ मत प्राप्त गरेका छन् । दुईबीचको मतान्तर ६१३ मतको रहेको छ । यस्तै महासचिव पदमा पनि सत्तारुढ दलनिकट कानुन व्यवसायीको मिश्र प्यानलकै केदारप्रसाद कोइराला फराकिलो मतान्तरसहित लिड गरिरहेका छन् ।
कोइरालाले एक हजार २८६ मत प्राप्त गर्दा श्रेष्ठ प्यानलका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट अधिवक्ता यज्ञमणि न्यौपानेले ५९५ मत ल्याएका छन् ।

