काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा एनी भन्ने अनिता कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार सुरेश रजक जलेको घरमा आगो लागी भइरहँदा कुँवर त्यही घरबाट बाहिरिँदै गरेको भिडिओ सार्वजनिक भएको थियो।
सोही भिडिओसहितका प्रमाणका आधारमा काभ्रेको नमोवुद्ध १५ की कुँवरलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। त्यसदिन दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनमा उनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ।
त्यो घरबाट बाहिरिनु पहिले उनी सुरेशलाई जलाइएको कोठाबाटै बाहिर केही बोलेजस्तो भिडिओमा देखिन्छ। उनीसँगै रहेकाहरुले भित्र भएका सामान सडकमा फालिरहेका हुन्छन्। तरबाट आगो लागिरहँदा उनी माथि नै देखिन्छन्। त्यसको केहीबेरमा उनी बाहिरिए पनि पछि हेर्दा उक्त कोठामा ताला लागेको हुन्छ।
उनीसँगै एक पुरुष भने आफ्नो अनुहार कपडाले ढाकेर बाहिरिएका हुन्छन्। त्यहाँबाट बाहिरिएपछि उनले आगो लागेको भन्दै फेसबुकमा लाइभ गर्छिन्। तर उनीसँगै आन्दोलन गरिरहेकाहरुले नै आगो निभाउन गएको दमकल तोडफोड गर्छन् र आगो निभाउन दिँदैनन्।
राजावादीहरुले यसरी अवरोध गरेपछि प्रहरी पनि त्यहाँ पुगेर तत्काल आगो निभाउन असफल हुन्छ। सोही आगोमा जलेर पत्रकार रजकको ज्यान गएको पछि मात्रै पुष्टि हुन्छ।

