काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न शुक्रबार बेलुका उनकै घरमा प्रहरी पुग्यो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार नै लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराधमा थुनामा पठाउने आदेश गरेको थियो।
अदालतले थुनामा पठाउने आदेश गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, सिआइबी र जिल्ला प्रहरी परिसरको टोली बेलुका ८ बजे हात्तिगौंडास्थित रवि लामिछानेको घर पुगेका थिए।
प्रहरी घर पुगेपछि लामिछानेले फेसबुकमा स्टाटस लेखेर आफू गिरफ्तारी दिएर कानुनलाई सघाउन तयार रहेको बताएका थिए।
लामिछानेका समर्थकहरू पनि उनको घर पुगेका थिए। प्रहरी पुगेपछि त्यहाँ सामान्य विवाद भएको थियो। त्यसको भिडिओहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
भिडिओअनुसार एक प्रहरीले अन्तिम इच्छा भन्ने शब्द उच्चारण गरेपछि विवाद सुरू भएको देखिएको छ।
'अन्तिम इच्छा उहाँहरूसँग कुरा गर्ने थियो। कुरा गर्न दिन्छौं भइहाल्यो,' ती प्रहरीले भनेका थिए।
त्यसरी लामिछानेलाई ‘अन्तिम इच्छा’ सोध्ने प्रहरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी दीपक खड्का हुन्।
रविका समर्थक प्रमोद न्यौपानेसँगको कुराकानीको क्रममा उनले अन्तिम इच्छा सोध्न भनेका थिए। त्यसपछि त्यहाँ उपस्थित अन्यले अन्तिम इच्छा भनेको के हो भनेर सोधेका थिए।
डिएसपी खड्काले प्रष्टीकरण दिँदै ‘एकचोटी कानुन व्यवसायीहरूसँग कुरा गरेर जाने भन्नुभएको होइन ? त्यही हो अन्तिम इच्छा’ भनेका थिए।
त्यसपछि त्यहाँ डिएसपी खड्का र रविका समर्थकहरुबीच विवाद भएको थियो। पक्राउ गर्न गएको प्रहरीले अन्तिम इच्छा सोधेको भनेर उनीहरूले आपत्ती जनाए।
सुरूमा पक्राउ पुर्जी नै नल्याइएको भन्दै रवि लामिछाने र उनका समर्थकहरूले प्रश्न गरेका थिए। त्यसपछि प्रहरीले त्यही बसेर पुर्जी लेखेको थियो।
प्रहरीले उनकै अगाडि पुर्जी लेख्न थालेपछि लामिछानेले प्रश्न उठाएका थिए।
‘म जान तयार नै छु त, लैजानुस् न कति समयमा लैजानुहुन्छ। ‘पक्राउ पुर्जी जारी हुनु परेन र मलाई लैजान ?,’ रविले एक प्रहरीतर्फ देखाउँदै लामिछानेले भने, ‘ए अहिले लेख्ने तपाईंले अब ?’
अर्का एक प्रहरीले भने अदालतकै पक्राउको आदेश आइसकेको भन्दै जवाफ फर्काएका थिए। यसरी त्यहाँ केहीबेर जवाफसवाल समेत भयो।
शुक्रबार प्रहरी पुगेको एक घण्टापछि रविलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा पुर्याइएको थियो। हिरासतबाट शनिबार बिहानै यति एयरलाइन्सको जहाजमा रविलाई रूपन्देही पठाइसकेको छ।
लामिछाने आज र भोलि रूपन्देही प्रहरीको हिरासतमा रहनेछन्। त्यसपछि थुनामा पठाउनका लागि जिल्ला अदालत रूपन्देहीमा सोमबार प्रहरीले हाजिर गराउनेछ।

